श्रमसम्बन्धी समस्या समाधान गर्न साझा फोरमको स्थापना

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपालका ३ ठुला ट्रेड युनियन महासंघहरूले श्रमसम्बन्धी समस्या समाधान गर्न साझा फोरमको स्थापना गरेका छन् । 

काठमाडौंको टेकुस्थित FNCCI, सचिवालयमा भाद्र १९ गते सम्पन्न बैठकले यस्तो सहमति गरेको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले, श्रम बजारलाई व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न आगामी दिनमा आउन सक्ने 

चुनौतीको दुई पक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै लान जरुरी रहेको बताउनु भयो । 

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधारोन्मुख भएता पनि भविष्यमा आउन सक्ने चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबिच सहकार्य र समन्वय हुनुपर्ने धारणा राख्नुभयो । 

बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( JTUCC) का अध्यक्ष योगेन्द्र कुँवर र नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले JTUCC  र ट्रेड युनियन बिच विगतमा भएका समझदारीलाई कार्यान्वयनमा लैजान कुनै बिलम्ब गर्न नहुने बताउनु भयो ।