चिया तथा कफी क्षेत्रमा श्रम कानुन कार्यान्वयनकालागि कोशी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध चिया कफी श्रमिक युनियन नेपालले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीलाई समक्ष चैत्र १७ गते श्रम ऐन, समान ज्याला, योगदानमा आधारित सामाजिक सुरक्षा र श्रमिक पंजिकरण लगायतका मागहरू कार्यान्वयनकालागि ज्ञापन पत्र बुझाएको छ । 

जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई चिया कफी श्रमिक युनियन नेपालका केन्द्रीय प्रतिनिधि लगायतका टोलीले मुख्यमन्त्री कार्कीलाई बुझाएको ज्ञापन पत्रमा  श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भए पनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिँदा श्रमिकहरुमाथि विभेद भएको र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गर्न माग गरेको छ । 

त्यसैगरी सरकारले सबै श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा लगेको भए पनि बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उक्त कोषमा सहभागी नगराएको र श्रमिकहरुको पञ्जीकरण र कानुन कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ । 

ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले चिया तथा कफी क्षेत्रलाई प्रवर्धन र विकासका लागि कोशी प्रदेश सरकारले विशेष योजना बनाएको बताउनु हुँदै सय वर्ष इतिहास बोकेको चिया बगान क्षेत्रका श्रमिकहरुमाथिको यो विभेदका कारणहरु खोजी गरी क्रमिक सुधार गर्दै श्रमिकहरुको जीवनसंग मेल खाने गरी सुधार गर्दै जाने बताउनुभयो ।