नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगरको १६औँ वार्षिकोत्सवको अवसरमा जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन समस्या व्योहोर्नु परेको अवस्थाकी छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले महानगर कमिटीले कक्षा दश सम्मको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने कमिटीकी अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।

कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गङ्गा तामाङ, नाबुन कोसी प्रदेश अध्यक्ष कला डाँगीले महानगरले थालेको यो कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेस्यले थालेको यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणि रिजालले भारती जस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठुलो टेवा दिने बताउनुभयो । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोसी प्रदेशकी महिला सचिव सायद तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो ।