क्युपेक नेपाल झापा जिल्लाको अध्यक्षमा निरानन्द गिरी निर्वाचित
चाडपर्वमा यात्रुहरुको प्रभावकारी सेवा र यातायात मजदुरहरुको भूमिकाका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीले असोज ५ गते कोटेश्वरमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
काठमाकाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले साझा प्रतिबद्धता गराइएको छ ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिनुभएको कार्यक्रममा चाडपर्वका समय यात्रुहरुको सेवालाई प्रभावकारी बनाउन यात्रुमैत्री व्यवहार, यात्रु तानातान नगर्ने र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने साझा प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान, परिचयपत्र तथा पोशाक लगाएर मात्रै काम गर्ने, काउन्टरमा शौचालय, खानेपानी, बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था र बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, बीचबाटोमै यात्रु अलपत्र हुने गरी गन्तव्य स्थान ढाँटेर टिकट नकाट्ने लगायतका १४ वटा बिषयमा यात्रुहरूलाई प्रभावकारी सेवा दिन साझा प्रतिबद्धता जनाएको हो ।