चिया बगानका मजदुर आन्दोलित

काठमाडौं, चिया बगानका मजदुरहरुले वेतन बृद्धि नभएसम्म आन्दोलन नरोक्ने भएका छन् । गत भाद्र १२ गते ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारले गत साउनदेखि लागू हुनेगरी गरेको ज्याला बृद्धि कुनै पनि चिया बगानले व्यवहारमा लागु नगरेको भन्दै मजदुर संगठनहरु आन्दोलित भएका हुन् । दुई बर्षमा भएको ज्याला बृद्धि चिया कम्पनीहरुले नमानेपछि केन्द्रीय स्तरका तीनवटै चिया बगान मजदुर संगठनहरु संघर्षमा उत्रिएका हुन् । 

अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले श्रमिकहरुको बेतन बृद्धि नभएसम्म कुनैपनि हालतमा संघर्ष फिर्ता नलिने र एकपछि अर्को विरोधको कार्यक्रम थप्दै लैजाने बताउनुभएको छ । 
 

हाल नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल चिया बगान मजदुर युनियन संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् । 

यसैबीच नेपाल सरकारले श्रमिकको पारिश्रमिक बृद्धि तथा सुविधाको व्यवस्था गरेकोमा कृषि क्षेत्रमा त्यसको कार्यान्वयन नभएको भन्दै लागु गर्न युनियनहरुले माग गरेका छन् । 

कृषि क्षेत्रमा आधारित राष्ट्रिय स्तरका दुईवटा युनियनहरु, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ तथा अखिल नेपाल कृषि मजदुर संघका तर्फबाट सरकारी निर्णय कार्यान्वयन गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राालय र नेपाल कृषि अनुसन्धान केन्द (नार्क) लाई ज्ञापन पत्र बुझाइएको हो । 

निर्णय तत्काल कार्यान्वयन नभएमा आन्दोलनमा जानुको विकल्प नभएको ज्ञापनपत्रमा उल्लेख छ । भेटमा मन्त्रालयका प्रतिनिधिले श्रम कार्यालय र श्रम विभाग मार्फत सवै क्षेत्रमा बेतन बृद्धिको पत्र तत्काल पठाउने प्रतिवद्धता जनाएका थिए । 

श्रम बिभागमा बुझाएकाे ज्ञापन पत्र संलग्न छ ।
श्रम कार्यालयमा बुझाएकाे ज्ञापन पत्र संलग्न छ ।