नाबुनले बिविध कार्यक्रम सहित मनायो १८ औँ स्थापना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) द्वारा चैत्र ७ गते १८ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी देशका बिभिन्न स्थानमा मनाएको छ । 

नाबुन केन्दीय कमिटीको आयोजनामा जिफन्ट सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु हुंदै नेपालमा सौन्दर्यकर्मी क्षेत्रको बिकास र बिस्तारको बारेमा चर्चा गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा सौन्दर्यकर्मी क्षेत्र सामान्य सीपबाट क्रमशः ठुला उद्योगको रूपमा विकसित हुँदै गएको उल्लेख गर्नुहुंदै अबको मुख्य आवश्यकता गुणस्तर अभिवृद्धि ,पेशागत सम्मान ,स्पष्ट पहिचान ,मर्यादित जीवन र सामाजिक सुरक्षाको सुनिश्चितता रहेको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी नाबुन केन्द्रीय र बागमती प्रदेश कमिटीको संयुक्त आयोजनामा तार्केश्वर नगरपालिका स्थित रहेको नबजिबन परोपकार समाजमा रहेका शारीरिक अशक्त र परिवार बिहिन २८ जना जेष्ठ नागरिकलाई दिवा भोजनको समेत ब्यवस्थापन गरेको थियो । 

स्थापना दिवस कै सन्दर्भमा चैत्र ७ गते नाबुन भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगर पालिका, पोखरा महानगरपालिका र कुस्मा नगर कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नाबुन विराटनगर महानगर कमिटि, ईटहरी उपमहानगर कमिटी, त्रियुगा नगर कमिटी, दुहबी नगर कमिटीले रक्तदान कार्यक्रम, ईनरुवा नगर कमिटीले मोरङ जिल्लामा निशुल्क स्टेशनरी बितरण तथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी स्थापना दिवस मनाईएको हो ।

नाबुन मधेश प्रदेश कमिटी र बिरगंज उपमहानगर कमिटीको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर, लुम्बीनी प्रदेशको सिद्धार्थनगर नगर कमिटीले बालगृहका बालबालिकाहरूलाई निशुल्क खाजा बितरण गरेर १८ औँ स्थापना दिवस मनाईएको नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले जानकारी दिनु भएको हो ।