नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेश भर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (रोड प्रमिट) को व्यवस्था गर्न माग राखेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चैत्र २५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भएको भेटमा संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र सीमित भएकाले स्वरोजगारमा आश्रित मजदुरहरू समस्यामा परेको जनाउँदै प्रदेशभर साना तथा मझौला हलुका सवारी सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता स्थानहरूबाट पर्यटक तथा सेवा ग्राहीलाई प्रदेशका विभिन्न जिल्लामा लैजान र ल्याउन सहज नहुँदा समस्या भइरहेको संगठनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण पत्र ग्रहण गर्दै समस्या समाधानतर्फ सरकार गम्भीर हुने बताउनुभयो । उहाँले स्वरोजगारमा आधारित हलुका सवारी मजदुरको समस्या समाधानमा प्रदेश सरकारको ध्यान केन्द्रित हुने स्पष्ट पार्नुभयो ।