नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) को पहलमा बेनी–दरबाङ सडक आयोजना अन्तर्गतका मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत भएको छ ।
ज्याला दिन आनाकानी गर्ने, मजदुरलाई धम्काउने, पुनः नाप जाँच जस्ता अनावश्यक बखेडा झिकेको ठेकेदार कम्पनीले ३ लाख रुपैयाँ मजदुरको खातामा जम्मा गरी बाँकी २० दिनभित्र बाँकी १० लाख ज्याला दिने चैत्र २१ गते जिल्ला प्रशासन कार्यालयमा लिखित सम्झौता भएको हो ।
जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पूर्वाधार कार्यालयका प्रमुख ईन्जिनियर विष्णु पौडेल, क्युपेक केन्द्रीय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राई सहित मजदुरका अगुवाहरूको उपस्थिति भएको छलफलमा प्रजिअ ढकालले सहमति अनुसारको मजदुरको ज्याला तोकिएको समयमै फिर्ता नगरे कानुनी उपचारको अन्तिम विकल्प खोज्ने बताउनुभयो ।
क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुले ज्याला नपाएको भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । मङ्गला गाउँपालिका-२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी बिच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा समेत ढिलासुस्ती भइरहेको अवस्थामा पुरानो ज्याला नदिएपछि राजनीतिक दलले समेत मजदुरको समस्यामा प्रतिबद्धता जनाएका थिए ।