बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले दशौं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले युनियन स्थापना भएको नवौं वर्ष पुरा गरी दशैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चैत्र २० गते अनामनगर जिफन्ट स्कुलमा  एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनायो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बाफ्स्युको दशौं स्थापना दिवसको शुभकामना दिनु हुँदै बैंक वित्तीय तथा सहकारी क्षेत्रहरूमा कार्यरत श्रमिक कर्मचारीहरुलाई सम्मानित र सृजनशील नागरिकको पहिचान सहित वित्तीय क्षेत्रमा क्रियाशील श्रम शक्तिलाई आफ्नो हक अधिकारबारे प्रशिक्षित र संगठित रुपमा परिचालित गर्ने उद्देश्य सहित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २०७२ साल चैत्र २० गते यो युनियन स्थापना गरेको बताउनु भयो ।

अध्यक्ष  श्रेष्ठले युनियनको स्थापना दिवस मनाइरहँदा आगामी दिनहरुमा अझै सशक्त र प्रभावकारी रुपमा आफ्नो सांगठनिक अभियानमा जुट्नुपर्नेमा जोड दिदैं विद्यमान अवस्थामा सामुहिक सौदाबाजीबाट प्राप्त उपलव्धीहरुलाई खोस्ने मात्र हैन वैंक वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने अदालतको फैसलाले संविधान प्रदत्त उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिकको हक, योगदानमा आधारित सामाजिक सुरक्षाको हक, समानताको हक, ट्रेड युनियन गठन गर्ने र सामुहिक सौदाबाजी गर्न पाउने हकको उलंघन गर्ने कामको थालनी भएको र जस्को कारण श्रम संसारमा प्राप्त हक आधारित विषयको कार्यान्वयन गर्ने कुरामा समस्या सृजना भएको छ भने यस क्षेत्रमा ठुलो संख्यामा श्रमिकहरु आउटसोर्स र इन्टनको रुपमा काममा लगाइ श्रम शोषण गर्न प्रश्रय मिलेको बताउनु भयो ।

खोसिएका अधिकार र यस क्षेत्रमा भएका ठुला पद र साना पदमा भएको तलबको असमानता आउटसोर्स, तालिमेलाई तलब र वित्तीय संस्था मर्जरपछिको कर्मचारी समायोजन लगायतका यस क्षेत्रमा रहेका चुनौतीहरूलाइ सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित खोसिएका अधिकार फिर्ता गर्न र यस क्षेत्रका लाखौं श्रमिक तथा कर्मचारीहरुको मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउँदै व्यक्त गर्नु भयो ।