नेपाली ट्रेड युनियन आन्दोलनको इतिहासमा २००३ सालको पहिलो पुस्ताको आन्दोलन पछि विभिन्न प्रतिष्ठान र स्थानीय तहमा मात्रै सीमित श्रमिक आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन स“गस“गै काठमाडौं, हेटौडा, विराटनगर लगायत देशभरि नै साना ठूला मजदुर आन्दोलनहरू उठेको थियो । तिनै आन्दोलनमा क्रियाशील मजदुरहरूद्वारा २०३६ साल माघ १५ गते बालाजु औद्योगिक क्षेत्रमा प्रथम राष्ट्रिय कार्यकर्ता भेला गरी (२००३ सालमा स्थापित अखिल नेपाल टे«ड युनियन काङ्गे्रसको असल उत्तराधिकारीको रूपमा) नेपाल स्वतन्त्र मजदुर युनियनको स्थापना भएको थियो । यो युनियन जिफन्ट परिवारकै सबैभन्दा जेठो युनियनको रूपमा स्थापित भएको थियो । जिफन्टको चार संस्थापक युनियनहरूमध्येको एउटा प्रमुख घटकको रूपमा रहेको यो युनियन २०५१ मंसीर ८ मा पहिलो टे«ड युनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको थियो ।
सुरुका दिनमा सम्पूर्ण औद्योगिक श्रमिकहरूलाई स¨ठित गर्दै आएको यस युनियनबाट जिफन्टद्वारा २०५२ सालमा सञ्चालित विषयगत उद्योग अभियानपछि रसायन, धातुजन्य, खनिज तथा ऊर्जास“ग सम्बन्धित प्रतिष्ठानहरूलाई समेटेर नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र खाद्य वस्तु तथा पेय पदार्थस“ग सम्बन्धित प्रतिष्ठानका श्रमिकहरूलाई समेटेर नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन र धागोसँग सम्बन्धित उद्योग प्रतिष्ठानका श्रमिकहरुलाई समेटेर नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन बनेपछि बाँकी उद्योगहरु छाला तथा जुत्ता, सूर्ती, बिडी तथा चुरोट कारखानाहरू, इटाभट्टा र टायल कारखाना, ह्यूम पाइप, रोडा–ढुङ्गा उद्योगहरू, काष्ठकला, हस्तकला उद्योग, फर्निचर तथा प्लाइउड उद्योग, टेण्ट तथा तारपोलिन उद्योग, ड्राईल्किनिङ, कलर ल्याब, चलचित्र उद्योग, सलाई, आदि क्षेत्रमा नेस्वमयु केन्द्रित भएको थियो ।
हाल विश्वव्यापी रूपमा विभिन्न युनियनहरु बिच एकीकरण प्रक्रिया अगाडि बढिरहेको कुरालाई ध्यान दिदै, उत्पादन र उत्पादकत्व अभिवृद्धि सहित सबै श्रमिकहरूको जीवनस्तर उच्च बनाउन, श्रमिकहरुको हक, हित र अधिकारको रक्षा गर्ने सशक्त ट्रेड युनियन संघ स्थापना गर्नुपर्ने आवश्यकतालाई महसुुुस गरी औद्योगिक क्षेत्रका सबै उद्योगका श्रमिकहरुलाई एउटै बलियो ट्रेड युनियन संघमा आबद्ध गराउने उद्देश्यका साथ यस क्षेत्रमा कार्यरत तीन वटा युनियनहरु नेपाल स्वतन्त्र मजदुर युनियन (नेस्वमयु), नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन (नेस्वखापेमयु)लाई विघटन गरी २०७० जेठ १०, ११ र १२ गते संयुक्त रूपमा आयोजना गरेको एकीकरण अधिवेशनबाट नयाँ र एकीकृत समग्र उद्योग ट्रेड युनियन स्थापना गरिएको हो । राष्ट्रिय तहमा जिफन्टसँग आबद्ध यो ट्रेड युनियन अन्तर्राष्ट्रिय तहमा इन्डस्ट्रिअलसँग आबद्ध छ ।