नेपालमा चिया बगानको स्थापना जहानिया राणा शासनकालमै भए पनि मूल रूपमा २०१६ साल देखि मात्र झापा जिल्लामा चिया बगानहरू विस्तार भएको पाइन्छ । तर चिया बगानमा कार्यरत श्रमिकहरू भने तत्कालीन पञ्चायती व्यवस्थाको निरङ्कुशताका कारण संठित हुन सकेका थिएनन् । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि झापा जिल्लामा रहेका चिया श्रमिकहरूको २०४७ जेठ १६ गते न्यूगिरी एण्ड सन्स टि स्टेटमा भएको भेलाले नेपाल स्वतन्त्र चिया मजदुर युनियनको जिल्ला तदर्थ कमिटी गठन गरयो । यसपछि झापा तथा इलामका चिया बगानहरूमा युनियन विस्तारको क्रममा इलाममा पनि जिल्ला कमिटी गठन भयो । त्यसपछि टोकला चिया कमानमा भएको केन्द्रीय भेलाले रूपचन उरावको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय तदर्थ समितिको गठन गर्यो । नेपालको पूर्वी पहाडी क्षेत्रमा चिया बगान दिनदिनै फैलँदो अवस्थामा छ । झण्डै १२ हजारभन्दा बढी श्रमिकहरू कार्यरत झापा र इलाम जिल्लामा केन्द्रित रहेको चिया बगान अहिले क्रमशः पा“चथर, धनकुटा र संखुवासभामा पनि फैलदै छ ।