29/03/2010
२०६६ चैत १५ गते, जिफन्ट आबद्ध नेपाल ट्रेकिङ, ट्राभल्स, राफ्टीङ, एयरलाइन्स मजदुर यूनियन - युनिट्राभ लगायत मजदुर यूनियनहरुले राखेको मागका सम्बन्धमा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र मजदुर यूनियनहरु बीच सम्झौता सम्पन्न भएको छ ।
नेपाल सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल पर्यटन बोर्ड र उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरुको रोहबरमा भएको उक्त सम्झौता अनुसार ट्रेकिङ क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई नियुक्तिपत्र, सामाजिक सुरक्षालगायत विविध सुविधाहरु दिने सहमति भएको छ ।
गत भदौ महिनामा युनिट्राभले राखेको मागका सम्बन्धमा पटक-पटक धर्ना, चरण-चरणको वार्ता पछि सम्पन्न भएको उक्त १६ बुँदे सम्झौतामा मजदुरहरुलाई स्वास्थ्य बीमा २ लाख ५० हजार र दुर्घटना बीमा ५ लाखको व्यवस्था गर्ने उल्लेख भएको छ ।
त्यर्स्तै सम्झौतामा टे्किङ् क्षेत्रमा काम गर्ने मजदुरहरुलाई ५ हजार ३ सयको दरले दशै खर्च उपलब्ध गराउने, टे्किङ फिल्डमा काम गर्ने मजदुरहरुलाई ५० प्रतिशत ज्याला वृद्धि गर्ने, लुक्लाबाट भरियाहरुका लागि १ हजार जोर कपडाको बैंक स्थापना गर्ने, टे्किङ क्षेत्रका भरियाहरुलाई बासस्थानको व्यवस्था गर्ने आदि उल्लेख गरेको छ ।
त्यस्तै सम्झौतामा कल्याणकारी कोषको व्यवस्था, श्रम ऐन कार्यान्वयन, नेपाली आरोहीलाई पनि विदेशी सरह नै प्रचार प्रसार गरिने, स्थायी /अस्थायी खुलाई परिचयपत्रको व्यवस्था गर्ने, नेपाल सरकार पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, पर्यटन बोर्ड, उद्योग बाणिज्य महासंघ, टान र मजदुर प्रतिनिधिहरु सहितको मान्यता प्राप्त मजदुर ज्याला सिफारिसको लागि कार्यदल बनाउने समेत सहमति भएको छ ।
सम्झौतापत्रमा टानका अध्यक्ष सिताराम सापकोटाले हस्ताक्षर गरेका छन् भने श्रमिकको तर्फबाट यूनियट्राभका उपाध्यक्ष श्याम कुमार राई र महासचिव सुमन प्रसाद पराजुलीले हस्ताक्षर गरेका छन् । त्यस्तै अखिल पर्यटन मजदुर संघका अध्यक्ष गोविन्द पौडेल र महासचिव मुकुन्द पोखरेलले पनि हस्ताक्षर गरेका छन् ।
सम्र्झौतापत्र संलग्न छ ।
Download/View File: 112_Agree_Paper066.pdf